पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो
ताप्लेजुङ | माघ २३, २०८१
ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ ।
केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो ।
सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको हो । पाथीभरा केबुलकार परियोजना सुरु भएदेखि नै परियोजनाको विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थलेपछि थप द्वन्द्व बढेको थियो ।
निर्माणको काम थालेपछि सङ्घर्षरत पक्ष अर्थात ‘नो केबुलकार समूह’ र प्रहरीबिच झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा केही विरोधी गम्भीर घाइते भएका छन् भने अन्य दुवै पक्षका सामान्य घाइते थिए ।
सोही विषयलाई लिएर द्वन्द्व चर्किएपछि मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबुलकार खारेजी सङ्घर्ष समितिले मेची राजमार्ग र तमोर कोरिडोर सडकमा माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका थिए ।
मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायम राख्दै सङ्घर्ष समितिहरु र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समिति समेतबाट आन्दोलनलाई थप सशक्त बनाउन भन्दै माघ २० गतेदेखि अरुण पूर्वका नौ जिल्लामा यातायात बन्द आह्वान गरिएको थियो । बन्दले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि सरकारले बनाएको वार्ता टोली र आन्दोलनरत पक्षबिचको वार्तामा सहमति जुटेको हो ।
पाथीभरा केबुलकारको स्टेसन लगायतका सन्दर्भमा माघ २७ गते पुनः वार्तामा बसी विस्तृत छलफल गर्नेसमेत सहमतिमा उल्लेख गरिएको छ ।
आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ ।
त्यस्तै आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिमा उल्लेख छ ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

